प्रदेश २ को सरकारमा जाँदै माओवादी केन्द्र, को-को बन्दैछन् मन्त्री ?

Communist_Party_of_Nepal_Maoist
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने निश्चित भएको छ‍। माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम शनिवारका राखिएको छ। एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो।

माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने भएका हुन्। जसपाको भागमा रहेका तीन वटा मन्त्रालयमध्ये एउटा मन्त्रालय माओवादीलाई दिने सहमति भएपछि माओवादी केन्द्र सरकारमा जान लागेको हो।

माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहका अनुसार सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ ग्रहण शनिवार दिउसो ३ बजे हुनेछ। जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा काँग्रेसलाई सरकारमा सहभागी गराएका थिए।

सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो। तर ठुला दुई मन्त्रालय मागेपछि सहमति नबन्दा माओवादी सरकारमा सहभागी भएको थिएन।