काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावल बालुवाटार पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले डाकेको स्थायी समिति बैठकमा सहभागी हुन रावल बालुवाटार पुगेका हुन्। रावल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता हुन्।
नेता नेपालले प्रतिनिधिसभा ब्यूँतिएपछि स्वागत गरिसकेका छन्। सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापित गरेको छ। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ।
सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ। नेता नेपालले आफू ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघिनै जानकारी दिएका थिए। नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन्।
बालुवाटार स्थायी समिति बैठक बसिरहेको छ। बैठक साँझ पाँच बजेका लागि बोलाइएको थियो। कार्यदलले आइतबार राति एमाले मिलाउन दश बुँदे सहमति तयार पारेको थियो। सर्वोच्चको फैसलापछि उक्त दश बुँदे सहमतिको कार्यान्वयन हुन्छ कि हुन्न भन्ने अन्यौल बढेका बेला नेपालका तर्फबाट कार्यदलका संयोजक रहेका नेता रावल बालुवाटार पुगेका हुन्।



लोकपाटी न्यूज

