सर्वोच्चले ‘राजनीतिक फैसला’ गरेको ओली समूहको निष्कर्ष

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले सर्वोच्च अदालतले राजनीतिक फैसला गरेको निष्कर्ष निकालेको छ। सोमबार संवैधानिक इजलासले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापित गरेको छ। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ।

सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ। यसलाई एमालेको ओली समूहले संवैधानिक इजलासले राजनीतिक फैसला गरेको निष्कर्ष निकालेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत अदालतको फैसलाले मुलुकमा राजनीतिक अस्थिरताको बीजारोपण भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘बुझे हुन्छ – आजको फैसलाद्वारा मुलुकमा राजनीतिक अस्थिरताको दुन्दुभी बजाइयो ..! यसका मतियारहरूले जे सुकै पगडी लगाए पनि इतिहासको कठघरामा अभियुक्त हुनैपर्छ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले आज साँझ ५ बजे स्थायी समिति बैठक बोलाएका छन्। बैठकले अदालतको फैसलापछि कसरी अघि बढ्ने भनेर औपचारिक निर्णय गर्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

अदालतको फैसला लगत्तै ओली समूहको आपत्कालीन बैठक बालुवाटारमा बसेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने संवैधानिक इजलासले राजनीतिक फैसला गरेको निष्कर्षमा आफूहरू पुगेको बताए। इजलास गठनमा न्यायाधीशहरू छनौट गरेको बेलादेखि प्रश्न उठेको भन्दै थापाले शेरबहादुर देउवा बाहेकका अन्य रिट निवेदनमा सुनुवाइ नभएको टिप्पणी गरेका छन्।

‘औपचारिक निर्णय स्थायी समिति बैठकबाट आउनेछ। सर्वोच्च अदालतमा परेका सबै रिट निवेदनको सुनुवाइ समेत गरिएको छैन। प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा बाहेक अरूका दाबी नलाग्ने भनेर फैसलामा लेखिएको छ,’ थापाले भने, ‘संविधानको व्याख्या गर्नुपर्ने र तद्अनुरूपको फैसला हुनुपर्थ्यो। संविधानको व्याख्या मात्र यसमा छैन। यसले स्थापित बहुदलीय प्रणालीको भविष्यमाथि नै प्रहार गरेको छ। जति पनि निर्मम फैसला हुँदा पनि हामीले विधिको शासन, स्वतन्त्र न्यायपालिकाको मर्यादालाई संविधानको व्यवस्था अनुरूप स्वीकार गर्ने कुरा मात्र हो।’