काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले क्रियाशील सदस्यता छानबिनमा ढिलाई गर्न नहुनेमा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
सभापति देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा सिटौलाले क्रियाशील विवाद समाधानमा ढिलाई गर्दा महाधिवेशन प्रभावित हुनसक्नेबारे जानकारी गराएका हुन्। सो क्रममा सभापति देउवाले आफू क्रियाशील विवाद लम्ब्याउने पक्षमा नभएको बताए। कांग्रेस पदाधिकारी बैठकमा सिटौलाले पेश गरेको ‘सूत्र’ कै आधारमा सदस्यता छानबिनको मापदण्ड बनेको थियो। त्यही मापदण्डका आधारमा क्रियाशील विवाद टुंग्याउने सहमति बनिसकेकाले अलमल गर्न नहुने सिटौलाको सुझाव छ।
‘जुन मापदण्ड बनेको छ त्यसलाई सबैले पालना गरौ। मापदण्डभन्दा बाहिर जाँदा जिल्लाको सबै विवाद केन्द्रमा आइपुग्छ र अधिवेशन गर्न कठिन हुन्छ भन्ने अवगत गराएको छु’, सभापतिसंगको छलफलबारे सिटौलाले भने। उनले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्नेबारे सभापतिसंग सामान्य छलफल भएको बताए।
सो क्रममा देउवा र सिटौलाबीच सर्वोच्च अदालतको सम्भावित फैसलाका बारेपनि छलफल भएको बताइएको छ। देउवा र सिटौला दुवै कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दावेदार हुन्।



लोकपाटी न्यूज

