काठमाडौं, २१ माघ । वामपन्थी सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै नेपाली कांग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शन र विरोध सभा गरेको छ । विरोध सभामा बोल्दै वक्ताहरुले सरकारले लोकतान्त्रिक पद्दति अंगाल्न नसकेको आरोप लगाएका छन् ।
सोमबार कांग्रेसले काठमाडौं उपत्यकाका साथै देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । यहाँ हामीले कांग्रेसका कुन नेताले कहाँ के कुरा बोले ? त्यसको संक्षिप्त जानकारी प्रस्तुत गरेका छौं ।
पोखरा। पोखरामा आयोजित कोणसभामा काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले देशमा हत्याहिंसा आतङ्क बढे पनि सरकारले त्यसको नियन्त्रण गर्न नसकेको बताए । उनले सरकारले संसद्जस्तो गरिमामय संस्थालाई मातहतको मन्त्रालयजस्तै बनाएको आरोप लगाए ।
केन्द्रीय सदस्य जीवन परियारले निर्मला हत्याकाण्डजस्ता जघन्य घटनामा सरकारले पीडितलाई न्याय दिन नसकेको बताए । पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतान्त्रिक मूल्य मान्यताको जगेर्नाका साथै संसदीय सर्वोच्चताको रक्षाका लागि काङ्ग्रेस सधैँ दृढ रहेको बताए ।

जनकपुरधाम। जनकपुरधाममा आयोजित विरोध प्रदर्शन सभामा उपसभापति बिमलेन्द्र निधिले सरकार जनता, लोकतन्त्र, सङ्घीयता, समावेशी र संविधान विरोधी भएको जिकिर गरे । उनले सरकारले अपराध, हत्या, हिंसा भ्रष्टाचार, महँगी नियन्त्रण गर्न नसकेकोसमेत आरोप लगाए ।
केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारले संविधान संशोधन कार्य अहिलेसम्म नगरी मधेशी जनतालाई ठग्ने कार्य गरिरहेको बताए । जिल्ला सभापति महेशशङ्कर गिरीको सभापतित्वमा भएको सभामा पूर्वमन्त्री रामकृष्ण यादव र जिल्ला उपसभापति सन्तोष यादवले सरकारले जनतालाई उपेक्षा गरी तानाशाही लाद्ने कार्य गरेको बताए ।
चितवन। काङ्ग्रेस चितवनले आयोजना गरेको विरोध प्रदर्शनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले लोकतन्त्र, सङ्घीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताए ।
प्रदेश सरकारको नामाकरण गर्न र राजधानी तोक्ने विषयमा सरकारले समन्वय गर्न नसकेको उनले बताए । प्रदेश सरकारलाई दिइने अधिकारका विषयमा पनि केन्द्रीय सरकारले अहिलेसम्म निर्णय गर्न नसक्दा सङ्घीयता असफल बनाउने खतरा बढेको उनको दावी थियो ।
हेटौँडा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले सरकारले परिपक्व कूटनीतिक क्षमता प्रयोग गर्न नसक्दा अहिले कूटनीतिक क्षेत्रमा विभिन्न आशङ्का उत्पनन भएकोमा चिन्ता व्यक्त गरिन् ।
हेटौँडामा आयोजित आमसभामा उनले सत्तारुढ दलले संसद्मा संसदीय प्रक्रिया र परम्परालाई उपेक्षा गरी विधेयक पारित गर्दा अहिले संसदीय प्रजातन्त्र कमजोर हुन पुगेको बताइन् । उनले मुलुकमा अहिले गरीबी बढ्दै गएकाले जनता निरास हुन पुगेको चर्चा गर्दै ती जनतालाई आर्थिक समृद्धि र विकासको पूर्वाधारमा जोडिन सबै दलसँग सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन् ।
प्रदेश नं–३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले सबै नेपालीको बृहत् हितका लागि आफ्नो दलगत स्वार्थलाई त्यागेर नीति कार्यक्रमलाई जनतामाझ लानुपर्ने धारणा व्यक्त गर्दै सङ्घीय सरकार र प्रदेश सरकारले जनताको हितको निमित्त योजना र बजेट खर्च गर्न नसकेकोमा आपत्ति प्रकट गरे ।

दमौली। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाए । दमौलीमा आयोजित विरोध सभामा वरिष्ठ नेता पौडेलले सरकारका मन्त्रीहरु काममा भन्दा फोटो खिचाउनमा मात्रै व्यस्त रहेको आरोप लगाए ।
वरिष्ठ नेता पौडेलले विकास अवरुद्ध पारेर सरकारले सोचेको समृद्धि पूरा नहुने बताए । उनले भने, “सुनकाण्डका ठूला माछा कहाँ गएँ, वाइडबडीमा भ्रष्टाचार गर्ने कहाँ छन् ? उनीहरुलाई बचाउन खोजिएको आभास हुँदैछ ।”
पौडेलले अख्तियार र सर्वोच्च अदालतलाई तर्साएर सरकारले आफूखुशी काम गर्न थालेको आरोप लगाए । उनले थपे, “दश हजार घुस खाने पक्राउ पर्छन् । तर, अर्बौंको भ्रष्टाचार गर्नेलाई छुट दिइएको छ ।”
काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताए । दुईतिहाई सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले सरकारले राम्रो काम गर्नुपर्ने बताए । प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर हुनुपर्ने उनले अडान राखे ।
काठमाडौँ। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता संस्थागत गर्ने कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । काठमाडौंमा आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले सङ्घीयताका लागि आवश्यक कानून निर्माण गरी जनअपेक्षा अनुसारका काम गर्न सरकारलाई सुझाव दिए ।
नेता सिंहले प्रतिपक्षी दलका नेताको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक बसेर गरिएका निर्णय संविधान र कानून विपरीत भएको जिकिर गरे । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसद्बाट जबर्जस्ती पारित गरेको आरोप लगाए ।
सभामा काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढेको, महङ्गीले बढेको, चिनी काण्ड, सुन काण्ड जस्ता घटना घटेको र मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध हुँदासमेत समाधानका लागि सरकारले ठोस काम गर्न नसकेको टिप्पणी गरिन् ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सत्तापक्षले परराष्ट्र सम्बन्धमा राष्ट्रिय हितभन्दा पार्टीको हितमा काम गरेको आरोप लगाउँदै मुलकमा भ्रष्टाचार बढेको टिप्पणी गरे । पूर्वसभामुख तारानाथ रानाभाटले सरकारका गलत कार्यको निन्दा गर्दै सजग गराउन पार्टीले विरोध प्रदर्शन गरेको बताए ।
कार्यक्रममा सांसदद्वय भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसीले सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको र भ्रष्टाचारका आरोपीलाई कारवाहीका लागि आवश्यक तदारुकता नदेखाएको आरोप लगाए ।



लाेकपाटी न्यूज

