काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ। बैंकले मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूह सेयर बिक्री खुल्ला गरेको हो।
जसमा बैंकले मेरो माइक्रोफाइनान्सको ५६ हजार ८ सय ३८ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७३ हजार ७ सय ६५ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५३ हजार ७० कित्ता रहेको छ। मेरो माइक्रोफाइनान्सको मूल्य ५३४ रुपैयाँ रहेको छ। त्यस्तै आरएमडीसी लघुवित्तको ४७३ रुपैयाँ र महुली लघुवित्तको ७५२ रुपैयाँ रहेको छ। लगानीकर्ताले आजबाट असार ३१ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले महुली लघुवित्तबाहेक अन्य ३ वटा कम्पनीको सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन्। महुली लघुवित्तको सेयरमा भने न्युनतम ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन्।



लोकपाटी न्यूज
