काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका नेता माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्। शनिबार नेपाल निवास कोटेश्वर पुगी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै प्रचण्डले स्वास्थ्यलाभको कामना गरेको हुन्।
एमालेभित्र अन्तिम सहमतिका लागि कार्यदलको बैठक बस्ने तयारी भइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार अपराह्न नेपालनिवास कोटेश्वर पुगेका थिए। उक्त भेटलाई लिएर टिप्पणी हुन थालेपछि नेता नेपालको सचिवालयले एक विज्ञप्ति जारी गरेर नेपालको स्वास्थ्यलाभका लागि प्रचण्ड कोटेश्वर आएको प्रष्ट्याएको छ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा नेता नेपाल केही दिनयता जनैखटिराका कारण स्वास्थ्यमा समस्या आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहेको उल्लेख छ। ‘आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा नेपालको स्वास्थ्य समस्याका कारण शनिबार नेता नेपाल र दाहालबीच संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको पनि उल्लेख छ। नेता नेपाललाई सहमतिको दस्तावेज देखाएर फर्केपछि एमाले विवाद समाधान कार्यदलको बैठक शनिबार अपराह्न सिंहदरबारमा बसिरहेको छ।



लोकपाटी न्यूज

