काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन्। नेकपा विभाजनपछि नेकपा एमालेतिर लागेका नेता रायमाझीले प्रचण्डकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताएका हुन्।
संघीय राजधानी काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गरे। उनले विगत ३३ वर्षदेखि बिना विचार तथा विधि र प्रक्रियाबिना नै अध्यक्ष प्रचण्ड स्वघोषित रूपमा नेतृत्वमा बसिरहेको आरोप लगाए। उनले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको बताए।
‘गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कति औ पार्टी हुन्थ्यो। त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ वर्ष सम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ। अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुँदै गयो। किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन। कार्यशैली पनि ठिक भएन। चिन्तनमा पनि ठिक भएन। त्यसकारणले पार्टी तुइँदै-तुइँदै गएपछि पार्टी कमजोर भयो। यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?
माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरू संघर्ष गरिरहेको उनले स्पष्ट पारे। नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकूल भएको दाबी उनले गरे।



लोकपाटी न्यूज

