काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि क्रियाशील कार्यदलले आज सहमतिलाई अन्तिम रूप दिइने तयारी गरेको छ। शुक्रबारको बैठकपछि कार्यदल सहमति नजिक पुगेको दाबी गरिएको छ। कार्यदलले विवाद समाधानका लागि करिब आधा दर्जन विषयमा सहमतिको मस्यौदा तयार गरेको छ।
मस्यौदाको भाषिक लगायतका केही परिमार्जन गरेर आज (शनिवार) सहमतिलाई अन्तिम रूप दिइने कार्यदलको तयारी छ। मस्यौदामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेर औपचारिक सहमति पत्र तयार गर्ने कार्यदल सदस्यहरूको तयारी रहेको बताइन्छ। शुक्रवार सात घण्टाभन्दा बढी बसेको बैठकमा जुटेको सहमतिले एमालेको आन्तरिक विवादलाई किनारा लगाउनेमा कार्यदलका नेताहरू विश्वस्त देखिन्छन्।
यद्यपि यसअघि नेताहरूबीच भएका भनिएका सहमति अन्तिम अवस्थामा भाँडिएका पनि छ। शुक्रबारको बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरू लगभग सहमतिमा पुगेको बताए थिए। उनले भनेका थिए, ‘अहिलेका जति पनि प्रश्नहरू छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं।’ उनले शनिवार अपरान्ह बस्ने बैठकले सहमतिलाई अन्तिम रूप दिएपछि मात्र सार्वजनिक गरिने बताएका थिए।
कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ। नेताहरूले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन्। जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि छलफल सुरु गरेको थियो। एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले ‘अदालत विचाराधीन मुद्दाबाट नाम फिर्ता लिने गरी वा त्यसलाई प्रभावित गर्ने गरी गरिने कुनै पनि सम्झौता नमान्ने’ बताएका छन्। उनले भने, ‘हामी माधवकुमार नेपालले भने पनि मान्नेवाला छैनौं।’
यद्यपि आज पार्टीभित्रको विवाद टुंगिने र नयाँ ढंगबाट पार्टी सञ्चालन हुनेमा नेताहरू आश्वस्त देखिएका छन्। कार्यदलमा बाँकी रहेका विषयमा सहमति जुटे ओली र नेपालबीच पुनः वार्ता गराउने तयारी कार्यदल सदस्यहरूको छ। कार्यदलको प्रस्तावमा शीर्ष नेताले सहमति जनाए पार्टीमा रहेको विवाद अन्त्य भएको घोषणा गर्ने कार्यदलको तयारी छ।



लोकपाटी न्यूज

