काठमाडौं। नेपाल वायु सेवा निगमका कर्मचारीहरुले कुनै पनि हालतमा निगमलाई निजीकरण गर्न नदिने बताएका छन्।
सरकारले निगमलाई निजीकरण गर्न खोजेपछि निगमका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। निगमको संचालक समितिले गत बिहीवार निगमलाई कम्पनी लैजाने गरी प्रस्तावित मोडल पर्यटन मन्त्रालय पु-याएको थियो। निगमको उक्त निर्णयसँगै कर्मचारीले आन्दोलन थालेका हुन्।
‘‘हामी कुनै पनि हालतमा निगमलाई नीजिकरण हुन दिँदैनौँ,’’ निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले भने। साथै निगमले गरेको प्रस्ताव फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने उनले बताए। प्रहरी प्रशासन लगाएर कर्मचारी दमन गर्न खोजिएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन्। प्रहरीको घेरामा आफुहरुलाई वार्तामा बोलाइएको भन्दै त्यस्तो वार्ता स्वीकार्य नभएको अध्यक्ष कुँवरको भनाई भनाई छ। ‘‘प्रहरी लगाएर हामी वार्ता गर्न सक्दैनौँ,वार्ताका लागि शन्तिपूर्ण वातावरण चाहिन्छ,’’उनले भने। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसँग भेट हुन नसकेकोले यस विषयमा ठोस कुराकानी हुन नसकेको अध्यक्ष कुँवरले बताए। साथै कर्मचारीले महाप्रबन्धक पौडेलले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
गत बुधबार महाप्रबन्धक पौडेलले आन्दोलनरत कर्मचारीलाई वार्तामा बस्न आह्वान गरेका थिए। तर, नायब प्रबन्धक गणेशबहादुर चन्दको संयोजकत्वमा वार्ता आह्वान गरेपछि वार्तामा बस्न तयार छैनन्। कर्मचारीले पर्यटन मन्त्रालय वा सचिवसँग मात्रै वार्तामा बस्ने जनाएका छन्। ‘‘हामी मन्त्रालय वा सचिव ज्यूसँग मात्रै वार्तामा बस्छौँ,’’संघका उपाध्यक्ष भानु कटवालले भने,“ निगमलाई नीजिकरण गर्न ल्याइएको प्रस्तावप्रति हाम्रो घोर आपत्ति छ।” कर्मचारीहरुले महाप्रवन्धक पौडेलको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिजुली तथा इन्टरनेट समेत काटिदिएका छन्। प्रहरीले महाप्रबन्धकका कार्यकक्ष भने खोलेको छ। तर बत्ती र इन्टरनेट नभएका कारण उनले काम गर्न पाएका छैनन्।



लोकपाटी न्यूज