काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा रहेका दुवै समूह छुट्टाछुट्टै छलफलमा जुटेका छन्। पार्टीभित्रको विवाद निरूपण गर्न थप गृहकार्य गर्नुपर्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु छुट्टाछुट्टै छलफलमा जुटेका हुन्।
बिहीबार केही बेर बैठक बसेर अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू बाहिरिएका थिए। ओली पक्षका कार्यदलका सदस्यहरू प्रधानमन्त्री कार्यालयमा छलफल गरिरहेका छन्। कार्यदलको बैठक आज साँझ ७ बजे फेरि बस्ने तय भएको छ।
बिहीबार दिउँसो तय भएको बैठक विवाद निष्कर्षमा पुर्याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित गरिएको ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए। उनले भने, ‘कार्यदलको अहिलेको बैठक सात बजेसम्म स्थगित गरिएको छ। सकभर आज निष्कर्षमा पुर्याउने तयारी छ।’
एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो। त्यसका लागि नेताहरूबीच निरन्तर छलफल जारी रहेको उनले बताए। विवादलाई सहमतिको निष्कर्षमा पुर्याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर साँझ ७ बजे बस्ने नेम्वाङले बताए।
‘थोरै तयारी गर्नुपर्ने भो। भरसक आजै निष्कर्षमा पुर्याउँछौं। संयुक्त वक्तव्य सानो कुरा हो। हामी पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौँ। छलफल जारी छ, सकारात्मक छ, गम्भीर छ,’ उनले भने ।
एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो। भेटका क्रममा दुवैले आ-आफ्नो अडान राखेका थिए। यसबीच एमालेको विवाद समाधान कार्यदल क्रियाशील रहेको थियो। यो कार्यदल विवाद समाधाननजिक पुगेको दाबी गरिएको छ।



लोकपाटी न्यूज

