सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। कार्यदलका सदस्यहरूले पार्टीको विवाद समाधान उन्मुख रहेको बताएका छन्। बुधवार बसेको बैठकपछि नेताहरूले आजको बैठकबाट निष्कर्षमा पुग्न सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए।

औपचारिक बैठकअघि कार्यदलका सदस्यहरूबीच शीर्ष नेताबीच भएको संवादका विषयमा छलफल भएको थियो। बिहीबार बिहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच छलफल भएको थियो। उक्त छलफलपछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर गएका थिए।

रावल कोटेश्वरबाट फर्केपछि मात्रै सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो। आजको बैठकमा आन्तरिक एकताको सहमति मस्यौदालाई अन्तिम रूप दिने नेताहरूको तयारी छ। सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको र आज एकता टुंगोमा पुग्ने गरी छलफल हुन सक्ने कार्यदलका सदस्यहरूले बताएका छन्।

यसअघि, बुधवार राति अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। छलफलमा ओलीले आफ्नै नेतृत्वको सरकारको निरन्तरताका लागि ‘निःसर्त’ सहयोग गर्न नेता नेपालसँग प्रस्ताव राखेका थिए। तर, नेता नेपालले सरकार र पार्टी संगठनमा ‘सम्मानजनक सहकार्य’ देखिने गरी शक्ति बाँडफाँड हुँदा मात्रै पार्टी एकतालाई बचाएर लैजान सकिने जवाफ दिएका छन्।

राजनीतिक र सांगठनिक शक्ति बाँडफाँडमा सहमति नजुटेपछि छलफल विनानिष्कर्ष टुंगिएको थियो। दुवै पक्षलाई ‘विन-विन’ हुने गरी शक्ति बाँडफाँड गर्ने नेपालको प्रस्तावलाई ओलीले अस्वीकार गरेका बताइएको छ। यद्यपि नेपालका तर्फबाट वार्तामा भाग लिएका नेता भीम रावलले छलफल सकारात्मक रहेको संक्षिप्त प्रतिक्रिया दिएका थिए। नेता सुरेन्द्र पाण्डेले पनि सोही जवाफ दिए।