काठमाडौं। यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज (बिहीवार) देखि आईपीओ विक्री खुला गरेको छ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो। आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते अनुमति पाएको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो।
कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री खुला गरेको हो। हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ। जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो। आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ। यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरो शेयरमार्फत पनिआवेदन दिन सकिने व्यवस्था छ। छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ रहेको छ।
यस अवधिसम्म कम्पनीले ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ५ अर्ब २४ करोड १६ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हाल ७० प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो।


लोकपाटी न्यूज
