काठमाडौं। नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ। उनीहरूबीच गत जेठ २ गते सहमति भई १० सदस्यीय कार्यदल गठन भएको थियो।
कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रूप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मक रूपमा छलफल भएको र चाँडै निष्कर्षमा पुगिने छ।
दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रूपमा सहमतिमा परिणत गर्न तनि दिनअघि कार्यदलको बैठक पुनः शुरु भएको हो। अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको सांगठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।
एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न ओलीले समय दिएका थिए।
कार्यदलमा अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन्। -रासस



लोकपाटी न्यूज

