काठमाडौं। नेकपा एमालेको कार्यदलमा आज तेस्रो दिन पनि छलफल हुँदैछ। पछिल्लो पटक सोमबार साँझबाट छलफलमा जुटेको एमाले कार्यदलमा सदस्यहरूले आ-आफ्नो भनाई राख्ने र विगतमा अनौपचारिक संवाद क्रममा भएका सहमतिको प्रस्तावका विषयमाथि छलफल भइरहेको छ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदाको तयारी तथा एमालेका सबै संरचनालाई जेठ २ अघिको अवस्थामा फर्काउने सन्दर्भमा छलफल भइरहेको बताइएको छ। आजको बैठकले एमालेका दुवैपक्षबीच सहमतिको मस्यौदा तयार भएमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त वक्तव्य निकाल्न सक्ने सम्भावना रहेको कार्यदलका एक सदस्यले जानकारी दिए।
मंगलबारको बैठक कुनै निष्कर्षमा पुग्न नसक्दा संयुक्त वक्तव्य आएन। डेढ महिनापछि ब्यूँतिएको कार्यदलको बैठक सोमबारबाटै सुरु भएको हो। पहिलो दिनको बैठकमा विगतमा भएका अनौपचारिक संवादका विषयमा समीक्षा गरिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका नेता एवं पार्टी उपाध्यक्ष भीम रावललाई बालुवाटार बोलाएर कार्यदल बिउँत्याएका हुन्।
पछिल्लो समयमा ओली एकताका लागि लचिलो बनेका छन्। कार्यदलमा संवाद सुरुवातसँगै विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माधव पक्षका २३ जनाले गरेका हस्ताक्षर फिर्ता गर्न २१ गते बेलुका ५ बजेसम्मका लागि लिएको अल्टिमेटमको सान्दर्भिकता पनि सकिएको दुवै पक्षका नेताले स्वीकार गरेका छन्।
माधव पक्षका कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष भीम रावलले मंगलबार बसेको कार्यदलको बैठकपछि पार्टीको संगठनात्मक विषयमा छलफलको सुरुवात भएको जानकारी दिएका थिए। उनले दोस्रो दिनको बैठक संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा केन्द्रित भएको स्पष्ट पारेका थिए। साथै, एकता प्रयासको सकारात्मक नतिजा आउनेमा रावलले विश्वास व्यक्त गरेका थिए।



लोकपाटी न्यूज

