रुकुम–पूर्वमा अनिश्चितकालीन कर्फ्यु

Rukum-Purba
लाेकपाटी न्यूज

रुकुम, २१ माघ । रुकुम पूर्वमा अनिश्चितकालीन कर्फ्यु  लागेको छ । सदरमुकामको विषयलाई लिएर विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा अनिश्चितकानिल कर्फ्यु जारी गरेको हो ।

स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनको मागसहित स्थानीयले रुकुमकोटमा र्‍याली तथा सभाको तयारी गरेपछि प्रशासनले हिजो बेलुका ७ बजेबाट लागू हुने गरी कर्फ्यु जारी गरेको थियो ।

पटकपटक प्रयास गर्दा समेत नटुंगिएपछि शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । उनका अनुसार पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५, रानीकोट उत्तरमा सिस्ने गाउँपालिका–६, को रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५, को रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्ला सदरमुकामको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । २०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा त्यस आसपासका सर्वसाधारण आन्दोलनमा उत्रिएका थिए ।

सरकारको निर्णय खारेजको माग गर्दै २०७४ माघ १७ गते सर्वोच्चमा रिट दायर गरिएको थियो । दुवै पक्ष आ–आफ्नै अडानमा कायम छन् । गोल्खाडा पक्षधर रुकुमकोटमा कार्यक्रम गर्ने पक्षमा छन् भने रुकुमकोट पक्षधर कार्यक्रम गर्न नदिने भनेर आन्दोलनमा छन् । समस्या बढ्दै गएपछि जिल्लामा सुरक्षाकर्मी थपिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्