‘काँग्रेसका ५० हजार पुराना कार्यकर्ताले सदस्यता नवीकरण गरेनन्’

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका ५० हजार भन्दा बढी पुराना कार्यकर्ताले सदस्यता नवीकरण नगरेको पाइएको छ। क्रियाशील सदस्यता छानबिन समितिले यस पटक ५० हजार बढी कार्यकर्ताले सदस्यता नवीकरण नगरेको जनाएको छ। गत महाधिवेशनमा ४ लाख ७० हजार काँग्रेसका क्रियाशील सदस्य थिए।

जसमध्ये ५० हजार बढीले सदस्यता नवीकरण नगरेका हुन्। क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले भने, ‘काँग्रेसका पुराना ५० हजार बढी क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेका छैनन्। के कारणले नवीकरण भएनन्, हामीले खोजी गर्दैछौं।’ काँग्रेस कार्यकर्ताले सदस्यता नवीकरण नगर्नु समीक्षा र खोजीको विषय बनेको पौडेलले बताए।

यस पटक सूचीकृत भएका आठ लाख ४६ हजारमा नयाँ र पुराना क्रियाशील सदस्य छन्। त्यसमध्ये अधिकांश नयाँ क्रियाशील सदस्य हुन्। क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा विवाद पनि देखिएको छ। छानबिन समितिले त्यसबारे काम गरिरहेको छ। ५ सय वडामा देखिएको विवाद मध्ये दुई सय वडाको विवाद समाधान भएको समितिले जनाएको छ।

समितिले समाधान निकाल्नै नसक्ने खालका उजुरी रहेको खण्डमा त्यसलाई शीर्ष नेताहरूको जिम्मेवारीमा दिइने भएको छ। शीर्ष तहमा पनि सहमति जुट्न नसके ती स्थानमा पुरानै प्रतिनिधि कायम गरी महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ। त्यस्तै समितिले सहमतिमा मात्रै निर्णय गर्ने भएको छ। बहुमतको आधारमा निर्णय गर्ने अधिकार समितिलाई छैन।

विधानको पालना नगरी पठाइएका नाममा उजुरी परेन भने छानबिन नगरिने समितिले जनाएको छ। समिति प्रवक्ता पौडेलले भने,‘उजुरी नआएपछि त त्यहाँ विवाद रहेनछ भन्ने बुझ्नु पर्‍यो। उजुरी नआएको स्थानमा निर्विवाद र प्रक्रिया पुर्‍याएर आएको बुझेका छौँ।’ पाँच लाख क्रियाशील सदस्य निर्विवाद भएको समितिले जनाएको छ। असार मसान्तसम्म छानबिन समितिले अन्तिम सूची निकाल्ने तयारी गरेको छ।