काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षसँग छलफल गर्दैछ। आयोगले जसपाका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई छलफलका लागि आज मंगलबार बिहान ११ बजे बोलाएको छ।
अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु हुने प्रवक्ता श्रेष्ठले बताए। दुवै पक्षका नेताहरू आ-आफ्नो अडानमा कायमै रहेकाले सहमतिको सम्भावना क्षीण देखिएको छ।
जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ। दुवै पक्षले एक अर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका थिए। यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो।
त्यति बेला आयोगले यो विवाद दलको आधिकारिकतासम्बन्धी भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निरूपणका लागि आउन आग्रह गरेको थियो। त्यसपछि यादव पक्षले यही असार ४ गते केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित दलको आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो। त्यसपछि आयोगको बैठकले यादव पक्षको दाबीमा लिखित जवाफ पेस गर्न ठाकुर पक्षलाई १५ दिनको समय दिएको थियो।



लोकपाटी न्यूज

