चुनावदेखि चुनावसम्म रुमलिएर समाजवादमा पुगिन्न, यो घेरा तोड्नुपर्छ : प्रचण्ड

CMPrachanda_Speech
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावदेखि चुनावसम्म रुमलिएर समाजवादी क्रान्ति संगठित नहुने भएकाले संसदीय व्यवस्थाको घेरा तोड्नुपर्ने बताएका छन्।

आइतबार बिहान नेकपा (माओवादी केन्द्र) काठमाडौं जिल्ला समितिले आयोजना गरेको ९ दिने आधारभूत स्कुलको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले स्टेप मिलाएर संसदीय व्यवस्थाको बिकल्प खोज्नुपर्ने बताए। पार्टी स्कुलको उद्घाटन गर्दै प्रचण्डले भने, ‘‘हामी मार्क्सवादी भइराख्ने, श्रमजीवी वर्गप्रति इमान्दार भइराख्ने र आफ्ना मुद्दाहरुलाई अगाडि बढाइराख्ने हो भने हामीले गम्भीरतापूर्वक सोच्नैपर्छ। अहिले यो कुनै न कुनै प्रकारको प्रतिस्पर्धा, शान्तिपूर्ण संसदीय निर्वाचनको जञ्जालमा जो परिएको छ, अहिले पर्नुपर्ने बाध्यता छ। यो अन्तरविरोध हल गर्नेमा हामी केन्द्रित हुनुपर्छ।’’

प्रचण्डले भने, ‘‘आज एमालेको ठूलो हिस्सा र केपी गुट आज कहाँ छ त, उहाँहरु २०४६ सालदेखि नै निरन्तर चुनाव भनिरहनुभएको छ। चुनावपछि चुनाव, चुनावपछि फेरि चुनाव भनिरहनुभएको छ। चुनावले त्यो पार्टीलाई के बनायो, त्यो पार्टीका नेता–कार्यकर्तालाई कहाँ पुर्‍यायो भन्दा अब त झण्डै प्रतिक्रान्तिकारीहरुका पुच्छर हुने स्थितिमा पुर्‍यायो। प्रतिक्रान्तिको सेवा गर्ने, साम्राज्यवादको सेवा गर्ने स्थितिमा पुर्‍यायो।’’

‘‘उनीहरुलाई त्यस्तो स्थितिमा के कारणले पुर्‍यायो भने चुनावमा गएपछि जित्नुपर्‍यो’’ प्रचण्डले भने, ‘‘जित्नका लागि पैसा चाहिन्छ, पैसा पूँजीपतिसँग हुन्छ, आफ्नो दलाली नगरिकन उसले पैसा दिन्न। अर्को चुनाव जित्नका लागि अलिकति टाँठोबाठो, अलिकति पैसा भएको मान्छेलाई उम्मेदवार बनाउनुपर्‍यो, त्योचाहिँ कम्युनिस्ट हुँदैन। पैसा भएको पनि धेरै पैसा खर्च गरेर चुनाव लडेपछि त्यो उठाउनेतिर लाग्छ, मन्त्री भएर, सांसद भएर आदित्यादि। गर्दै जाँदा कम्युनिस्ट पार्टी नै नरहने एउटा कारण त्यहाँ छ। हामीले दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष भनेका छौं, यसको सैद्धान्तिक महत्व त्यहाँनेर छ।’’

उद्घाटन सत्रलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले पार्टी निर्माणको प्रश्न आजको सर्वाधिक महत्वपूर्ण प्रश्न भएको बताए। ‘‘हामीले संयुक्त मोर्चा पनि गरिरहेका छौं, यो चाहिन्छ नै। तर, मूल कुरा त पार्टी निर्माण हो। पार्टीको कार्यदलले केही दिनमा रिपोर्ट दिन्छ, हामी पार्टीलाई नयाँ बनाउने प्रक्रियामा अघि बढ्छौं।’’

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले विचारमा स्पष्टता हासिल गरेर मात्र पाटीलाई थप क्रान्तिकारी र गतिशील बनाउन सकिने बताए। ‘‘पार्टीका नेता–कार्यकर्ताको वैचारिक स्तर उकास्न, विचार र दृष्टिकोणका आधारमा आन्दोलन, पार्टी, संगठन र जिम्मेवारी बुझ्न पार्टी स्कुल महत्वपूर्ण छ। त्यही मान्यताका साथ हामीले ९ दिने स्कुल सञ्चालन गरेका हौं।

माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको पार्टी स्कुल असार २८ गतेसम्म चल्नेछ। ९ दिनको अवधिमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र राज्यसत्ता, क्रान्तिको मोडेल र कार्यदिशा, कम्युनिस्ट पार्टी र संगठन, विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनबारे कक्षा सञ्चालन हुने अध्यक्ष शर्माले बताए।

कक्षामा माओवादी केन्द्र काठमाडौंका ३०० अगुवा कार्यकर्ता सहभागी हुनेछन्। भर्चुअल माध्यमबाट सञ्चालन हुने कक्षा बिहान ७.०० बजेदेखि ९.०० बजेसम्म चल्ने बताइएको छ।