काठमाडौं। लुम्बिनी प्रदेश सरकार फेरि अल्पमतमा परेको छ। लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रवार पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा परेको छ।
जसपाभित्र विवाद उत्कर्षमा पुगेको बेला रायमाझीले आफ्नो पार्टीको प्रदेश सरकारलाई समर्थन नरहेको भन्दै राजीनामा दिएकी हुन्। जनता समाजवादी पार्टीको तर्फबाट वैशाख ६ गते उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन्।
वैशाख ६ गते पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको केही घण्टामै रायमाझीसहित जनता समाजवादी पार्टी (जसपा)का चार सांसद मन्त्री भएका थिए। पार्टीले उनीहरूलाई निष्कासन गरेपछि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट सांसद थमौती भएको थियो। पछिल्लो समय जसपा अध्यक्ष उपेन्द्र यादव समूहका दुई जना सरकार बाहिर छन्।
राज्यमन्त्री शर्माले समाजवादी पार्टीले एमाले नेतृत्वको सरकारलाई सहयोग नगर्ने नीति लिएकाले आफू सरकारमा बसेर कामलाई निरन्तरता दिन नसक्ने उल्लेख गर्दै संविधानको धारा १६९ को उपदफा २ (क) अनुसार राजीनामा दिएको जनाएकी छन्। ८७ सदस्यीय प्रदेशसभामा तीन पद रिक्त छन्। बहुमतका लागि ४२ मत चाहिनेमा रायमाझीको राजीनामापछि पोखरेल नेतृत्वको सरकारको पक्षमा एमालेका ३८ र जसपाका ३ सांसद मात्र रहने छन्।
काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले विश्वासको मत पुष्टि गर्न संसद्मा दाबी दिइरहेका बेला रायमाझीको राजीनामाले मुख्यमन्त्री पोखरेलको सत्ता संकट गहिरिएको छ। सरकारलाई बजेट पारित गर्न मुस्किल हुने देखिएको छ।
विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गराएपछि १९ वैशाखमा मुख्यमन्त्री पोखरेल राजीनामा दिएर संसद्मा एकल बहुमत दाबी गर्दै एमालेको सरकार बनाएका थिए। त्यसको केही घण्टामै एमाले सांसद दृगनारायण पाण्डेले राजीनामा दिए भने तत्कालीन नेकपाबाट विजयी पूर्वएमाले सांसद विमला ओलीले माओवादी केन्द्र रोजिन्। सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले समेत विपक्षी गठबन्धनतर्फ हस्ताक्षर गरेका थिए।
लगत्तै, एमाले सांसद अमरबहादुर डाँगीले राजीनामा दिएपछि एमालेको एकल बहुमत रहेन। सर्वोच्च अदालतबाट जसपाका चार सांसद पुनर्बहाली भएपछि भने प्रदेश सरकार केही दिनका लागि ढुक्क भएको थियो। तर, रायमाझीको राजीनामाले मुख्यमन्त्री पोखरेल पुनः संटमा परेका छन्।



लोकपाटी न्यूज

