काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ११ वटा समस्याग्रस्त सहकारीको ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ।
कार्यालयले पटक/पटक ऋण चुक्ता गर्न आग्रह गर्दा पनि अटेर गरेको जनाएको छ। ‘नेपाल सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारीहरुको सम्पत्ति तथा दायित्व व्यवस्थापन फरफारक गर्ने जिम्मेवारी यस समितिमा रहेको छ।
समितिले ऋण चुक्ताका लागि पटकपटक पत्राचार गर्दा समेत तिर्न आएका छैनन्,’ कार्यालयको सूचनामा भनिएको छ, ‘अब निषेधाज्ञा खुलेको ३५ दिनभित्र अनामनगर कार्यालयमा उपस्थित भएर ऋण दायित्व चुक्ता गर्न यो सूचना प्रकाशित गरिएको हो।’ ऋण चुक्ता नगरे ऋणी र निजका परिवार तथा जमानीकर्ताको नामका सम्पत्तिबाट कानून बमोजिम असुल गरिने कार्यालयले चेतावनी दिएको छ।
कार्यालयका अनुसार स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, प्रभु बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट, कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, स्टाण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी र लु:निभा बहुउदेश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको थियो।



लोकपाटी न्यूज
