काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले श्रीलंकाबाट ३६ जना महिलाहरूको उद्धार गरेको जनाएको छ। मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी ३६ जना महिलाको उद्धार गरिएको जानकारी दिइएको हो।
उनीहरू वैदेशिक रोजगारीको सिलसिलामा भारतको बाटो हुँदै श्रीलंका पुगेका थिए। उद्धार गरिएका महिलाहरू श्रीलंकाका दुई वटा कारागारमा रहेका थिए। ३० जना कुरुभिटा कारागारमा रहेको र बाँकी ६ जना निगम कारागारमा रहेको मन्त्रालयले जनाएको छ। उद्धार गरिएका महिलाहरू मध्ये १० जनालाई केही समय अघि र २५ जनालाई असार १० गते उद्धार गरी नेपाल पुर्याइएको हो।
श्रीलंकाको कारागारमा रहेका उनीहरूलाई कानूनी प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ। फरक फरक विषयका मुद्दामा उनीहरूलाई कारागारमा राखिएको मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ। अदालतको फैसलाका आधारमा कानुनी समस्या नभएका महिलालाई कोभिड १९ को संक्रमण नदेखिएकालाई पहिला नै उद्धार गरेर नेपाल ल्याइएको भनिएको छ।
मन्त्रालयले उनीहरूलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय समिति, परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास श्रीलंकाको सहयोगमा र समन्वयमा उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। उद्धार र कोभिड जाँच गर्दा लागेको खर्च सरकारको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कोषबाट व्ययभार गरिने मन्त्रालयले जनाएको छ।



लोकपाटी न्यूज