वैदेशिक रोजगार विभागले हप्ताकाे तीन दिन श्रम स्वीकृति दिने

लोकपाटी न्यूज

काठमाण्डौँ। वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ।

कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ। व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ।

बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनै पर्ने बाहेक अन्यलाई भौतिक रूपमा उपस्थितिमार्फत विभागले सेवा प्रदान नगर्ने जनाएको छ। निषेधाज्ञा केही खुकुलो भए पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले अझ सतर्क हुन आवश्यक भएको भन्दै विभागले अनलाइनबाट हुने काममा लागि भौतिक रूपमा उपस्थित भई भिडभाड नगर्न अनुरोध गरेको छ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि गएको वैशाख २४ गतेदेखि विभागले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा रोकेको थियो। तर अन्तर्राष्ट्रिय उडानमा सरकारले सहज गरेसँगै यसअघि हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्दै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्