काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत देशमा स्वेच्छाचारी शासन चलाउन खोजेको बताएका छन्। बिहीबार सम्पादकहरूसँग अन्तर्क्रियामा यादवले लोकतन्त्रलाई समाप्त पारेर ओलीले निरंकुश शासन चलाउन चाहेको आरोप लगाए।
उनले भने, ‘केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसदलाई भंग गरेर राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक निकायहरूलाई अध्यादेश ल्याएर त्यसको प्रक्रिया, संवैधानिक व्यवस्थालाई तहसनहस पारेर कब्जा गर्ने र स्वेच्छाचारी शासन र निरंकुशतातर्फ मुलुकलाई लैजान चाहेका छन्।’
प्रधानमन्त्री ओलीलाई लोकतन्त्र, स्वतन्त्रता र संविधानवादमाथि विश्वास नभएको यादवको भनाइ छ। उनले भने, ‘ओलीलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र संविधानवादमाथि विश्वास छैन। उनी यसलाई समाप्त पारेर निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहन्छन्।’
यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी रूपमा लडिरहेको र आगामी दिनमासमेत गठबन्धन मिलेरै अघि बढ्ने बताए। ओली सरकारले प्रेस ऐन ल्याएर प्रेसको घाँटी समाउन खोजेको उनले बताए।



लोकपाटी न्यूज

