निर्वाचन आयोगले ठाकुर पक्षसँग माग्यो लिखित जवाफ

लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ मागेको छ। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरूपण गरिपाऊँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि आइतबार आयोगले उक्त दाबीबारे महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हो।

आयोगको बैठकले यादव पक्षका दाबीको विषयमा लिखित जवाफ पेस गर्न महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको छ। जसपाको यादव पक्षले असार ४ गते पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरूपण गरिपाऊँ भनी निर्वाचन आयोगमा पत्र दिएको थियो। योसँगै निर्वाचन आयोग जसपाको आधिकारिकतासम्बन्धी विवाद निरूपणमा प्रवेश गरेको छ।

आयोगको निर्णयमा भनिएको छ , ‘जनता समाजवादी पार्टी नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजातसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद निरूपण गरिपाऊँ भन्नेसमेत ब्यहोराको निवेदन २०७८/३/४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेस गर्नका लागि यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्ने।’

यसअघि उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्को पक्षलाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन दिएको निवेदनलाई आयोगले दुवै पक्षको दाबी नपुग्ने भनी अस्वीकार गरेको थियो। त्यति बेला आयोगले यो विवाद दलको आधिकारिकतासम्बन्धी भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निरूपणका लागि आउन आग्रह गरेको थियो। त्यसपछि उपेन्द्र यादव पक्षले असार ४ गते केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित दलको आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो।