काठमाडौं। नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरूलाई जनताको बहुदलीय जनवाद र एमाले नाम स्वीकार्न सकस देखिएको छ। पूर्वमाओवादी नेताहरूले पार्टीमा आफूहरूको समायोजनको स्पष्ट आधार खोज्न थालेका छन्। यदि नयाँ आधारमा समायोजन नभए आफूहरू एमालेमा रहने सम्भावना कम रहेको एमालेमा गएका एक पूर्वमाओवादी नेता बताउँछन्।
‘हामीले जबज होइन जनताको जनवादभन्दा ओलीजीले त्यो त विगतमा प्रचण्डका लागि भन्देको भन्नुभयो। एमालेको नाम फेरौं न त भन्दा यस्तो गरेमा यो नाम माधव नेपालले लैजाने भन्नुभयो,’ ती नेताले भने, ‘हाम्रो शक्ति मूल्यांकन गरेर तलदेखि माथिसम्म त्यही हैसियतको समायोजन गरौं न भन्दा समूहका कुरा नगर्नुस् न भन्नुभयो। उहाँले हामीलाई बेवास्ता गर्दै जानुभएको छ। हामी एक पटक अन्तिम चरणको वार्ताको तयारीमा छौं।’
सर्वोच्च अदालतले तत्कालीन नेकपालाई विघटन गरिदिएसँगै ओलीले बेवास्ता गरिरहेको उनीहरूको बुझाइ छ। एक पूर्वमाओवादी नेताका अनुसार नेकपा एमाले र सूर्य चिन्ह आफ्नो भागमा परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेताहरूलाई बेवास्ता गरिरहेको बताए। ‘नेकपा एमाले र सूर्य चिन्ह आफ्नो भागमा परेपछि ओलीजीले हाम्रो कामै छैन जस्तो गर्न थाल्नुभएको छ। माधव नेपालजीसँगको एकता कस्तो हुन्छ त्यसमा पनि अझै भर पर्छ होला,’ ती नेताले भने, ‘यस्तै अवस्था कायम रहेमा हाम्रो टिम एमालेमा रहने सम्भावना निकै कम छ। ओलीजीको व्यक्तिगत स्वभाव नै त्यस्तै रहेछ।’
अहिले नै माओवादी केन्द्रमा फर्किन पनि नसकिने र एमालेमै रहन पनि कठिन रहेकाले उनीहरू अन्योलमा परेको स्रोतको दाबी छ। जेठ ६ गते सर्वोच्च अदालतले सांसद नरहेर पनि मन्त्री बनेका ७ जनाको नियुक्तिलाई बदर गर्न आदेश दिएपछि प्रधानमन्त्री ओली भ्याकेटमा जाने आशा गरिएको तर उनी भ्याकेटमा नमानेपछि एमालेभित्र रहेका पूर्वमाओवादी सशंकित भएको अर्का पूर्वमाओवादी नेताले बताए।
‘ओलीजीको सेटिङअनुसार नै भएको फैसला भनेर त कसरी भन्नु! तर उहाँले जस्तो चाहेको हो त्यस्तै फैसला आएको हो कि भन्ने देखिएको छ,’ ति नेताले भने, ‘हाम्रा लागि ओलीले भ्याकेटमा समेत जान चाहनुभएन। कतै हाम्रो उपयोगिता सकिएको त होइन भन्ने आशंका बढेको छ।’



लोकपाटी न्यूज

