शशांक र प्रकाशमान किन पुगे निधि निवासमा ?

congress
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंह पार्टी उपसभापति विमलेन्द्र निधिको निवासमा पुगेका छन्। काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गइरहेका बेला सभापति पदका तीन दाबेदारबीच सोमबार निधिको निवासमा छलफल भएको छ।

निधिले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसरमा ‘लन्च’का लागि कोइराला र सिंहलाई निम्तो गरेका थिए। वैवाहिक वर्षगाँठको अवसर पारेर निधि निवासमा भएको भेटमा तीन नेताले पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल गरेका हुन्। बैठकमा सहभागी नेता सिंहले भने,‘पार्टी महाधिवेशनका विषयमा छलफल गर्‍यौं। कुराकानी गर्दै जाने सल्लाह भएको छ।’

महाधिवेशन केन्द्रित भएर कुनै निर्णय भने गरिनसकिएको उनले बताए। संवादले निरन्तरता पाउने सिंहले बताए। विपक्षी गठबन्धन र कोरोना महामारीका सन्दर्भमा पनि तीन नेताबीच छलफल भएको बताइएको छ। बाढी पहिरो पीडितलाई राहत तथा उद्धारमा सरकार सक्रियता नदेखिएकोप्रति कुरा भएको नेता सिंहले बताए। तीनै जना नेता आसन्न महाधिवेशनमा सभापतिका प्रत्याशी हुन्। साथै, काँग्रेसमा तीनै नेताको पारिवारिक विरासत पनि छ।