काठमाडौं। नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालयले राहतका लागि उपलब्ध गराएको केही खानेकुरा अखाद्य रहेको पाइएको छ। बिहीबार नेवि संघले त्रिभुवन विश्वविद्यालयको होस्टेलमा बसेका विद्यार्थीलाई वितरण गरेको केही राहतमा अखाद्य रहेको भेटिएको हो।
फन फूड इंडस्ट्रीज प्रा.लि. बालाजुद्वारा उत्पादित खाद्य सामग्री ल्याएर नेवि संघले त्रिविको होस्टेलमा बसेका १ सय ५० जना विद्यार्थीलाई राहत वितरण गरेको थियो। राहतका रुपमा वितरण गरेको पाउरोटीको उपभोग्य म्याद उल्लेख नभएको फेला परेको छ।
त्रिवि होस्टेलमा बसेका विद्यार्थी महेन्द्र चन्द ठकुरीले भने,‛उक्त खाद्य सामग्रीको स्वाद पनि छैन, हेर्दा पूर्ण रुपमा पाकेको पनि छैन। यस्ता खाद्य सामग्री स्वास्थ्यका दृष्टिकोणले असाध्यै नकारात्मक र प्रतिकुल असर गर्ने खालको छ।’
‛उत्पादन भएको मिति उल्लेख नभएको हुँदा कहिले उत्पादन भएको भन्ने नै थाहा छैन, पुरानो खाद्य वस्तु भएको हुँदा ढुसी लागेको हुन सक्छ चन्दले भने।
यस्ता अखाद्य सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्ने, राहत वितरणमा मिति नहेरी अखाद्य सामग्री वितरण गर्नेलाई कारबाही गर्नुपर्ने त्रिवि होस्टेलका विद्यार्थीले माग गरेका छन्। अखाद्य राहत बिक्रि वितरण गर्नेलाई उपभोक्ता ऐन र खाद्य गुण नियन्त्रण ऐन अनुसार हदै सम्मको कार्बाही हुनुपर्ने भन्दै विद्यार्थी आक्रोशित भएका छन्।
यसैबिच निषेधाज्ञाको समयमा अखाद्य वस्तुको बिक्री वितरण हुने गरेका कारण त्यस्ता अखाद्य वस्तुको बिक्री वितरण गरेको पाइएमा उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक विज्ञप्ति जारी गर्दै अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको हो। विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ। विभागले विभिन्न हटलाइन नम्बरहरु पनि उल्लेख गरेको छ, जसमा उपभोक्ताले सम्पर्क गर्न सक्ने छन्।
विज्ञप्तिः




लोकपाटी न्यूज

