हामी एमालेमा प्रवेश गरेका होइनौं : मणि थापा

Mani thapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता मणिचन्द्र थापाले आफूहरू नेपालका वामपन्थी घटकहरूलाई एक ठाउँमा ल्याएर बृहत्तर कम्युनिस्ट आन्दोलन निर्माणमा जुटेको बताएका छन्। बृहत्तर कम्युनिस्ट आन्दोलन निर्माण गर्ने उद्देश्यका साथ आफू एमालेमा आएको नेता थापाले बताए। उनले आफूहरू कम्युनिस्ट आन्दोलनको ध्रुवीकरण र एकताको पक्षपाती भएको बताए।

‘हामी कम्युनिस्ट आन्दोलनको ध्रुवीकरण र एकताको पक्षपाती हौं। हाम्रो पोलिटिकल कोर्ष यही हो। पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भएर नेकपा बन्यो। त्यो नेकपालाई निरन्तरता दिनुपर्छ र त्यो नेकपाभित्र नेपालका अरू वामपन्थी घटकहरूलाई पनि समावेश गरेर बृहत्तर कम्युनिस्ट आन्दोलन निर्माण गरिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ थापाले भने, ‘त्यही उद्देश्यका लागि हामीले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेका हौं।’

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने घटकलाई नोक्सान नहुने उनको भनाई छ। थापाले भने, ‘अब केपी शर्मा ओलीलाई समर्थन गर्न जति घटक आउनुहुन्छ। त्यसले चाहिँ बेफाइदा होइन फाइदा नै गर्छ।’ उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलाई पनि नेकपा एमालेमा ल्याइने बताए।

‘हामी बृहत्तर कम्युनिस्ट आन्दोलनको ध्रुवीकरणको पक्षमा छौं। विप्लव, वैद्यजीलाई पनि यहीँ ल्याउनुपर्छ,’ बाह्रखरीसँगको संवादमा थापाले भने, ‘माओवादी धारसहित सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध बनाएर संसदभित्र बहुमत कायम गर्न सक्छौं र जनतामा पनि प्रभाव पार्न सक्छौं। साथै आगामी निर्वाचनमा फेरि वामपन्थीहरूको सरकार बन्न सक्छ।’