काठमाडौं। नेकपा एमालेले प्राकृतिक विपद्मा स्वयंसेवी भावनाले परिचालन हुन पार्टी पंक्तिलाई अपिल गरेको छ।बुधवार प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गरेर उद्धार राहतमा परिचालिन हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई आग्रह गरेका हुन्।
ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न पार्टीको तर्फबाट माग गरेका छन्। एमालेले विपद् कार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिविरुद्ध परिचालित गर्ने निर्णय प्रभावकारी कार्यान्वयनका निम्ति पनि सरकारको ध्यानाकर्षण गराएको छ।
‘नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,’ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले घरबारविहीन परिवारका लागि अस्थायी बसोबासको प्रबन्धका लागि पनि सरकारसँग माग गरेको छ।
अविरल वर्षाले गर्दा आएको बाढी पहिरो र डुबानमा परी सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व, नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायतका जिल्लाहरु बढी प्रभावित भएका छन्। कतिपयको ज्यान गएको छ भने कैयौँ बेपत्ता भएका छन्। सयौंपरिवार घरबार विहीन भएका छन्।



लोकपाटी न्यूज

