काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिमा व्यापक हेरफेर गरेका छन्। ठाकुर पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाएको छ। उनीहरूको ठाउँमा अध्यक्ष ठाकुरले आफू पक्षीय १६ जनालाई कार्यकारिणी सदस्यमा मनोनीत गरेका छन्।
स्रोतका अनुसार ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव, रमेश यादव, मृगेन्द्र सिंह यादव, रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएका छन्। त्यस्तै, आफू पक्षीय खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायतलाई कार्यकारिणीमा लगेका छन्।
स्रोतका अनुसार ठाकुर पक्षले कार्यकारिणी समिति हेरफेर गरेको सूचना आयोगमा पठाउने तयारी गरेको छ। एकीकृत पार्टीको नाम दर्ता गर्ने क्रममा जसपाले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको विवरण आयोगमा बुझाएको थियो। उक्त समितिका सदस्यहरूमा पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत रहेको छ।
ठाकुर र यादव पक्ष एक अर्काविरुद्ध कारबाहीमा उत्रिएपछि त्यसको वैधानिकताको विवाद आयोगमा पुगेको थियो। आयोगले दुवै पक्षलाई केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहितको विवरण पेस गर्न भनेको थियो। कार्यकारिणी समितिका बहुमत सदस्यहरूको हस्ताक्षर समेत यादवले निर्वाचन आयोगमा पठाइसकेका छन्। तर ठाकुरले भने यादवलाई कारबाही गरेको पत्र मात्रै पठाएका छन्। निर्वाचन आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।
आयोगको निर्णयपछि जसपाका अध्यक्ष यादव पक्षले फेरि ठाकुर पक्षमाथि कारबाहीको तयारी गरेको छ। यादव पक्षले सरकारमा सहभागी ९ जना मन्त्रीलाई स्पष्टीकरणसमेत सोधेको छ। चित्तबुझ्दो जवाफ नआए उनीहरूमाथि कारबाही गर्ने यादव पक्षको तयारी छ। सोहीबेला ठाकुर पक्षले पनि यादव पक्षलाई बाहिर राखेर आफू केन्द्रीय समिति विस्तार गरिरहेका छन्।



लोकपाटी न्यूज

