नदीजन्य पदार्थ दोहन गर्नेलाई कारबाही गर्छौं : विप्लव नेकपा

Biplap
लोकपाटी न्यूज

झापा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाको मेचीनगर नगरपालिका क्षेत्रमा रहेका मेची र निन्दा खोलाबाट तोकिएभन्दा बढी नदीजन्य पदार्थ दोहन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

सो पार्टीका मेचीनगर इञ्चार्ज जितुले विज्ञप्ति निकालेर उक्त कार्यमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिइए पार्टीले कारबाही गर्ने चेतावनी दिएका हुन्। पार्टी जनताको माझमा रहेर जनभावना अनुरूप काम गर्दै रहेकाले कानुन विपरीत काम गर्ने जोकोहीलाई पनि नछाडिने इन्चार्ज जितुले निकालेको विज्ञप्तिमा लेखिएको छ।

पहुँच र शक्तिको दुरुपयोग गर्दै नदीजन्य पदार्थ उत्खनन गरी करोडौं राजस्व छली गरेको, नक्कली बिल-भौचर बनाएको र नगरपालिकाका जिम्मेवार व्यक्तिहरू नै सो कार्यमा संलग्न रहेको पुष्टि हुँदा पनि नगरपालिका नेतृत्व आलटालमा लागेको भन्दै सो पार्टीले आपत्ति जनाएको छ। नदीजन्य पदार्थ उत्खननको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही नगरे नगरका जनतामाझ पार्टीले कारबाही गर्न बाध्य हुने चेतावनी दिइएको छ।

यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य तथ्य छानबिन गर्न माग गर्दै नगर प्रमुख विमल आचार्यलाई ज्ञापन पत्र बुझाएका थिए। नदीजन्य पदार्थ उत्खननमा व्यापक अनियमितता भएको विषय बारम्बार उठे पनि नगर नेतृत्व भने औपचारिकतामा सीमित हुँदा व्यापक आलोचना भइरहेको छ।