काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले एकपक्षीय रूपमा केन्द्रीय कार्यकारिणी समिति विस्तार गरेका छन्। ठाकुर पक्षले आफूनिकट १७ जनालाई कार्यकारिणी समितिमा मनोनीत गरेका छन्। कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत जुटाउन ठाकुर पक्षले आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा मनोनीत गरेको बुझिएको छ।
एकीकृत पार्टीको नाम दर्ता गर्ने क्रममा जसपाले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको विवरण आयोगमा बुझाएको थियो। उक्त समितिका सदस्यहरूमा पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत रहेपछि ठाकुर समस्यामा छन्। ठाकुर र यादव पक्ष एक अर्काविरुद्ध कारबाहीमा उत्रिएपछि त्यसको वैधानिकताको विवाद आयोगमा पुगेको थियो। आयोगले दुवै पक्षलाई केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहितको विवरण पेस गर्न भनेको थियो।
यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयसहित विवरण पेस गरेको थियो। ठाकुर पक्षले पेस गर्न ढिलाइ गरेपछि आयोगले पछिल्लो पटक दिन किटान गरेरै सात दिन समय दिएको थियो। तर ठाकुर पक्षले विवरण पेस गर्नुअघि नै आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो। आयोगको निर्णयपछि अध्यक्ष ठाकुरले केन्द्रीय कार्यकारिणी समितिमा १७ जना थपेका हुन्।
कार्यकारिणी समिति थपिएका सदस्यमा ठाकुरनिकट ११ जना र राजेन्द्र महतोनिकट ६ जना रहेको जसपाका एक नेताले बताए। जेठको पहिलो साता नै ठाकुरले आफ्नो पक्षका सदस्य थपेको उनले बताए। ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवनिकट कार्यकारिणी समितिका सदस्यलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेको एक नेताले बताए। यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन्। मंगलबार उनले कानुन व्यवसायीसँग सल्लाहसमेत गरेका थिए।



लोकपाटी न्यूज

