काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले सरकारको कठपुतली बनेर लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप लगाएका छन्। जसपाबारे संवैधानिक आयोगको पछिल्लो निर्णय लज्जास्पद र भर्त्सनायोग्य रहेको उनको टिप्पणी छ।
आयोगका निर्णय राजनीतिक अस्थिरता र संकटको कारण बन्ने गरेको उनको भनाई छ। यसअघि पनि तत्कालीन नेकपाको विवादमा पनि आयोगबाट यस्तै लज्जास्पद कार्य भएको श्रेष्ठको टिप्पणी छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो। अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो।’
राजनीतिक दलहरूले आफू प्रत्यक्षरुपमा प्रभावित नबन्दासम्म नबोल्ने र तमासे बन्न नहुने उनको भनाइ छ। उनले संवैधानिक अंगको यस प्रकारको गलत कार्यलाई रोक्न लोकतन्त्रपक्षधरहरु मिल्नु पर्ने बताएका छन्। ‘राजनीतिक पार्टीहरू आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ। लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको यस प्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ’ श्रेष्ठले भनेका छन्।




लोकपाटी न्यूज

