महन्थ ठाकुर आफूनिकट नेताहरूसँग छलफलमा

Mahanth_Thakur_Rajendra_Mahato
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा जुटेको छ। कार्यकारिणी समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाउन नसकेपछि पार्टीको भावी रणनीतिबारे छलफल गर्न ठाकुर पक्ष आन्तरिक छलफलमा जुटेको हो।

ठाकुर पक्षीय नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, सर्वेन्द्रनाथ सुक्ललगायतका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्। सरकारमा सहभागी भएपछिको अवस्था र पार्टीको भावी रणनीतिबारे छलफल हुने बताइएको छ।

उनीहरुबीच आफूले सम्हालेको मन्त्रालयलाई कसरी प्रभावकारी बन्ने भन्ने विषयमा कुराकानी भइरहेको बुझिएको छ। उपेन्द्र यादव पक्षलाई गरिएको कारबाहीलाई पूर्णता दिनेबारे पनि कुरा भएको एक नेताले जनाकारी दिए। यादव पक्षले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेपछि ठाकुरले पनि कारबाही गरेका थिए।

उक्त जानकारी निर्वाचन आयोगलाई दिए पनि आयोगले निर्णय नक्कल मागेको छ। तर ठाकुर पक्षले बुझाउन सकेको छैन। यादव पक्षले भने केन्द्रीय कार्यकारिणी परिषद्को बहुमत सदस्यको हस्ताक्षर बुझाएको थियो। आइतबारको छलफलमा आयोगले मागे बमोजिमको कागजात कसरी पुर्‍याउने भन्नेबारे पनि कुराकानी भएको छ।