बुटवल। जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ। सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यसूची छ।
जसपा संसदीय दलकी प्रमुख सचेतक पूर्मति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन्।नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै उनले ह्वीप जारी गरेकी छन्।
जसपाका ६ प्रदेशसभा सदस्यमध्ये संसदीय दलका नेता सहषराम यादव र प्रमुख सचेतक ढेंगाबाहेकका ४ जना पार्टी निर्णय विपरित सरकारमा गएको भन्दै पार्टीले कारबाही गरेर पदमुक्त भएका थिए। तर सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद थमौती भएको छ।




लोकपाटी न्यूज
