आवेशमा आएर बोलेँ, आत्मालोचित छु : वैद्य

NC-Samsad-Narottam-Baidhya pic
लोकपाटी न्यूज

काठमाडौं। बागमती प्रदेशसभामा काँग्रेस सांसद नरोत्तम वैद्यले दिएको प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित अभिव्यक्ति फिर्ता लिएका छन्। शनिबार प्रदेशसभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर वैद्यले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन्।

शुक्रवार उनले प्रधानमन्त्री ओलीले सत्ता बचाउन विभिन्न क्रियाकलाप गरेको भन्दै प्रदेश सभामा ‘कोही नाथुराम गोड्से बन्नुपर्ने’ भनेका थिए। प्रधानमन्त्रीकै ‘हत्या’ गर्नुपर्ने प्रकारको अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भएको थियो। नेपाली कांग्रेसले समेत उनलाई आत्मआलोचना गर्न भनेको थियो।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन्।

‘म आत्मआलोचना गर्न चाहन्छु। प्रधानमन्त्री प्रति व्यक्तिगत रिसीबि छैन। म वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने मान्छे। तर प्रधानमन्त्रीको क्रियाकलाप सत्ता बचाउनका लागि अपनाएको हतकण्डाबाट आवेगमा आएर पोख्ने सिलसिलामा आवश्यकता भन्दा स्वतन्ताको प्रयोग गरेको फिल गरेँ,’ उनले भने।

उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।