एमाले नेता भन्छन् : नरोत्तम वैद्यले तीतो सत्य उजागर गर्नुभयो

लोकपाटी न्यूज

काठमाडौं। बागमती प्रदेशसभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको भनी दिएको अभिव्यक्तिको नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले समर्थन जनाएका छन्। उनले नरोत्तम वैद्यको अभिव्यक्ति सबैलाई अप्रिय लागे पनि सत्य यही हो भनेका छन्।

उनले सत्य उजागर गरेकोमा वैद्यलाई धन्यवाद समेत दिएका छन्। वैद्यको अभिव्यक्ति शासकहरूको उदांगो कुकृत्यविरुद्ध जनमानसको आक्रोश भएको चौधरिको टिप्पणी छ। उनले नेताहरूले जनताको मनोविज्ञान बुझेर आफ्नो व्यवहार र आचरण सुधार गर्नुपर्ने उनको भनाई छ। नरोत्तम वैद्यको अभिव्यक्तिबारे चौधरीको भनाइ जस्ताको तस्तै :

‘माननीय नरोत्तमको अभिव्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो। नेपाली मनोविज्ञानलाई बागमती प्रदेशको रोस्टमबाट बोलिएको विषयमा धेरैले आलोचना गरिरहे पनि तीतो सत्य उजागर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु।

यसैले उहाँले न माफी माग्नुपर्छ न त पश्चाताप! बरू हामी शासक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने विषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौं। अदालतले बेठीक ठहर गरेको विषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगामी दिनमा गल्ती नगर्ने विषमा प्रतिबद्धता जाहेर गरौं।

अतः अब जनताहरूका मनोविज्ञान बुझौं, सोअनुसारको व्यवहार र आचारण देखाऔं। जनताहरूका मन जितौं, गुमेको साख उठाऔं। कसैसँग बदलाको भाव नराखौं। यसैमा हामी सबैको कल्याण हुन्छ।’