याे साता नेप्सेमा तीन कम्पनीकाे सेयर सूचिकृत

लोकपाटी न्यूज

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयर सूचिकृत भएको छ। नेप्सेका अनुसार एक कम्पनीको बोनस सेयर, एक कम्पनीको मर्जरपश्चातको सेयर र एक कम्पनीको साधारण सेयर (आईपीओ) यो साता नेप्सेमा सूचिकृत भएको हो।

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको जम्मा १ करोड १४ लाख १२ हजार ३ सय ६१ दशमलव ७८ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ।

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेड:-
सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) जेठ २५ गते नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैशाख १७ गते देखि वैशाख २१ गते सम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड:-
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १० प्रतिशत बोनस बापतको २० लाख १० हजार कित्ता सेयर पनि जेठ २५ गते नै नेप्सेमा सूचिकृत भएको हो। कम्पनीको फागुन २५ गते नक्सालस्थित एलआईसी शिक्षालय हलमा सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५२ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनस सेयरधनीहरूको हितग्राही खातामा पनि जम्मा भइसकेको छ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड:-
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २३ गतेसेयर सूचिकृत भएको थियो। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी नेप्सेमा सूचिकृत भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्