काँग्रेसले हिंसालाई प्रेरित गर्ने अभिव्यक्तिको ढाकछोप गर्दैन : शर्मा

BishwaPrakash_Sharma
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसले बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको छ। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार नै वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई निर्देशन गरिसकिएको जनाएका हुन्।

शनिवार जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ। प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ।’

नेपाली काँग्रेसले हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको उनले स्पष्ट पारेको छन्। हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरूलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा गर्ने पार्टी नीति नभएको काँग्रेसले जनाएको हो।

अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएकोमा विज्ञप्तिमा उल्लेख छ। ‘आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसद्मा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ। हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरूलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन।’