काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको बैठक सुरु भएको छ। सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा गरिएको थियो। तर उनी उपस्थित छैनन्।
संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ। समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ। प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि सभामुखले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए।



लोकपाटी न्यूज

