काठमाडौं। नेकपा एमालेका नेता प्रभु साहले नागरिकतासम्बन्धी अध्यादेशमा अन्तरिम आदेश दिएर रोक लगाउने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते जारी गरेको नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गरेको छ।
नेता साहले सर्वोच्चको उक्त अन्तरिम आदेशप्रति आपत्ति प्रकट गरेका हुन्। उनले अदालतका फैसलालाई अस्वाभाविक भनेका छन्। यसले मुलुकमा संकट निम्त्याउने साहको भनाई छ। यो आदेशले नेपाली नागरिकलाई आफ्नै मुलुकमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकाले यसमा संलग्न न्यायाधीशहरूलाई महाअभियोग लगाउन जरुरी रहेको उनले बताएका हुन्।
‘हाल संसद् नभएको अवस्थामा सरकारबाट अध्यादेशमार्फत नेपाली नागरिकलाई नागरिकता दिने जिम्मेवारीपूर्ण प्रयासस्वरुप ल्याइएको अध्यादेशलाई भोलि सदनले पारित गर्छ कि गर्दैन? भनेर आधारहीन भविष्यवाणी गरी गैरजिम्मेवारीपूर्ण ढंगले रोक्नु संवैधानिक प्रावधानमाथिको हस्तक्षेप मात्र नभई सिंगो न्यायालयप्रतिको अपमान हो,’ साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।




लोकपाटी न्यूज

