काठमाडौं। नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरूले प्रयास जारी राखेका छन्। अध्यक्ष केपी शर्मा ओली वक्तव्य र वरिष्ठ नेता माधवकुमार नेपालको प्रति-वक्तव्यले नेकपा एमालेको एकता प्रयासमाथि प्रश्न उठेका बेला दोस्रो तहका नेताहरूले सहमतिका लागि प्रयास जारी राखेका हुन्।
मंगलबार साँझ होटेल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरू संवाद भएको थियो। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए। दोस्रो तहका नेताहरुबीच भइरहेको एकता संवादमा आचार्य पहिलो पटक सहभागी भएका हुन्।
एक नेताका अनुसार छलफलका क्रममा अध्यक्ष ओली र नेता नेपालको वक्तव्यबारे एक अर्को पक्षले गुनासो गरेका थिए। ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिबद्धता जनाए पनि सहमतिमा नआएको ओली पक्षको गुनासो थियो। नेपाल पक्षका नेताहरूले भने अध्यक्ष ओलीको प्रस्तावमा थप प्रष्टता खोजेका छन्।
मंगलबार भएको छलफलमा पनि ओली पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट सांसदहरूको हस्ताक्षर फिर्ता लिनुपर्ने जोड दिएका छन्। तर नेपाल पक्षका नेताहरूले नेता नेपालको वक्तव्यमा झैँ संसद् विघटनपछि रिट गएकाले विघटन फिर्ता भए हस्ताक्षर पनि स्वतः फिर्ता हुने बताएका थिए।
यद्यपि छलफल सकारात्मक रहेको दुवै पक्षका नेताहरूले बताएका छन्। छलफलमा सहभागी नेपाल पक्षका एक नेता भन्छन्, ‘यो पार्टीलाई कसरी एकताबद्ध गराउने भनेर भइरहेको छलफलकै निरन्तरता हो। र सकारात्मक छ।’ नेता सुवास नेम्वाङले पनि संवाद जारी रहने बताए। भेटबारे छोटो प्रतिक्रिया दिएका उनले भने, ‘पार्टी एकताका लागि हाम्रो बिचमा निरन्तर सम्पर्क छ र यो जारी रहन्छ।’



लोकपाटी न्यूज

