गोरखा। जनता समाजवादी पार्टीका संघीष परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनबलबाट परास्त गर्नुपर्ने बताएका छन्। सोमबार गृहजिल्ला गोरखामा पत्रकार भेटघाटको क्रममा डा. भट्टराईले ओली सच्चिने अवस्था नरहेकाले उनलाई जनबलबाटै परास्त गर्नुपर्ने बताएका हुन्।
आफूले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्दा ओलीले बेवास्ता गरेको उनले बताए। ‘केही समय अघि म आफैँले उहाँलाई भेटेर राष्ट्रिय सहमतिको सरकार बनाऊँ, संविधान संशोधन, मधेसी थरुहट लगायतका मुद्दामा सहमति बनाएर जाऊँ भने तर उनले टेरपुच्छर लगाएनन्,’ उनले भने।
भट्टराईले अहिले संसद् विघटन मात्र नभई व्यवस्था नै विघटनतर्फ लैजाने प्रयत्न भइरहेको दाबी गरे। ‘संसद् विघटन हुनु, चुनाव हुनु ठुलो कुरो हैन। लोकतन्त्र बहुदलमा सत्ताधारी पार्टी विघटनमा जान्छ, सरकार गिर्छ, चुनाव हुन्छ भने त प्रतिपक्षले स्वागत गर्नुपर्ने हो,’ उनले भने, ‘पटक-पटक संविधान मिचेर संसद् विघटन गर्ने प्रावधान कुल्चने काम भइरहेको छ, यसमा अदृश्य शक्तिसँग अस्वाभाविक किसिमको साँठगाँठ छ।’
प्रधानमन्त्री र राष्ट्रपतिजस्तो संस्थाको दुरुपयोग गरेर अदृश्य ढंगले वैदेशिक शक्तिसँग साँठगाँठ गरेर त्याग बलिदानबाट प्राप्त गरेको गणतन्त्र र संविधानलाई ध्वस्त पार्ने र नेपाललाई डरलाग्दो अँध्यारो सुरुङभित्र धकेल्ने गुरुयोजना अनुसार देश त्यो दिशातर्फ गइरहेको उनको भनाइ छ। ‘त्यसलाई रोक्न हाम्रो पनि तागत पुगेन होला, आवाज पुगेन होला, त्यो बेग्लै पाटो तर पनि समस्या ज्यूँ का त्यूँ छ,’ उनले भने।



लोकपाटी न्यूज

