एमालेलाई मण्डले समूहको खतरा : भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले नेता घनश्याम भुसालले फेरि अनर्गल प्रचार सुरु भएको बताएका छन्। एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको नेता भुसालले बताएका छन्।

उनले भनेका छन्, ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार सुरु भएको छ। हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ।’ नेता भुसाल सामाजिक सञ्जालमार्फत पञ्चायतमा जस्तै अहिले एमालेको राजनीतिलाई विकृत बनाउन केही मण्डले समूह खडा भएको आशंका व्यक्त गरे।

‘पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो। पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ती योगदान थिएन। त्यसबेलाका कतिपय पञ्चहरूले नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुल गुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु,’ उनले लेखेका छन्,’ आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन्।’

एमाले विभाजन उन्मुख पुगिरहँदा नेता भुसालसहितका केही नेता भने निरन्तर वार्ताका लागि पहल गरिरहेका छन्। तर उनीहरूको उक्त पहललाई धेरैले आत्मसमर्पण गरेको र गुट फेरेको भनेर टिप्पणी गर्न थालेपछि भुसालको यस्तो प्रतिक्रिया आएको हो।