मन्त्रीका लागि कांग्रेसले बनायो १३ बुँदे आचारसंहिता

लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूका लागि नेपाली कांग्रेसले १३ बुँदे आचारसंहिता जारी गरेको छ। आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ।

यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ। मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिबन्ध लगाएको छ।

‘मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पार्टीले प्रतिबन्ध लगाएको छ,’ कांग्रेस सांसद हिमबहादुर शाहीले भने, ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्ने, कानुनले बर्जित गरेका कुनै पनि आचरण विपरीत हुने कार्यहरू गर्न पाइने छैन्।’

कांग्रेस संसदीय दलले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ पठाउने निर्णय गरेको छ। कांग्रेसबाट मन्त्री भएका बिसी र शाहीको आइतबार मात्र नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो। त्यसको आधारमा ३ वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो। कांग्रेस विश्वासको मत दिँदा शाही नेतृत्वको कर्णाली सरकार जोगिएको थियो।