मन्त्रिपरिषद विस्तारको तयारीमा प्रधानमन्त्री, जसपाबाट को-को बन्दैछन् मन्त्री ?

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तारका लागि तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने निश्चित भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्।

वरिष्ठ नेता महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने भएको हो। जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूलाई आजै शपथग्रहण गराउने तयारी रहेको बुझिएको छ। जसपा स्रोतका अनुसार वरिष्ठ नेता महतोलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिइएको छ। यसै गरी शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनाउने तयारी जसपाको छ।

अनिलकुमार झालाई सहरी विकास मन्त्रालय, विमल श्रीवास्तवालाई खानेपानी र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिने निर्णय भएको जसपा स्रोतले जनाएको छ। अरगरिया र श्रीवास्तव उपेन्द्र क्याम्प छोडेर महन्थ पक्षमा आएका हुन्।

यसका साथै लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्ललाई पनि सरकारमा पठाउने तयारी रहेपनि उनीहरूले पाउने मन्त्रालयबारे टुंगो लागि नसकेको बताइएको छ। यसका साथै चन्दा चौधरी, रेणुका गुरुङ र रुही नाजपनि अकांक्षी देखिएका छन्।