काँग्रेस उपसभापति निधि र जसपा अध्यक्ष यादवबीच छलफल

Yadab_Nidhi
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र काँग्रेस उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। प्रदेश नम्बर-२ को सत्ता समीकरणबारे छलफल गर्न जसपा अध्यक्ष यादव आज बिहान निधि निवास मध्यबानेश्वर पुगेका थिए।

यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश-२ को सरकारबारे के गर्ने भन्ने छलफल भएको हो,’ दाहालले भने। सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन्।

प्रदेश-२ मा जसपाको यादव निकट लालबाबु राउत मुख्यमन्त्री छन्। तर अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि जसपा विभाजन नजिक पुगेको छ। यसको असर प्रदेश-२ को सरकारमा पर्ने भएपछि यादवले काँग्रेसको समर्थन खोजेको हो।

यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रूपमा लिने र थप छलफल गर्न तयार रहेको बताएका छन्। स्रोतका अनुसार शुक्रबारको भेटमा निधिसँग यादवले प्रदेश-२ को सरकारमा तत्काल सहभागी हुन प्रस्ताव गरेका थिए। तर तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल काँग्रेसलाई दिन निधिले प्रस्ताव गरे।

यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन। तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ। १०७ सदस्यीय प्रदेशसभामा जसपाका ५६ सांसद छन्। जसपाको यादव पक्ष (साबिकको समाजवादी पार्टी, नेपाल) सँग २९ र ठाकुर पक्ष (साबिकको राजपा) सँग २५ जना छन्।

त्यस्तै नेकपा एमालेका २१, माओवादी केन्द्रका ११, अन्य दुई सांसद थिए। त्यसमध्ये माओवादी केन्द्रले चार जनालाई निष्कासन गरेकाले प्रदेशसभा १०३ सदस्यीय भएको छ। प्रदेश २ मा सरकार निर्माणका लागि ५२ सांसद आवश्यक पर्छ।