ओलीले वार्तालाई दाउपेचको रूपमा प्रयोग गरे : भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका असन्तुष्ट पक्षका नेताहरू भर्चुअल माध्यमबाट भेला भएका छन्। भर्चुअल भेलामा करिब ९० जना केन्द्रीय सदस्यहरू रहेको बताइएको छ। बढ्ने घट्ने क्रम जारी रहेको एक केन्द्रीय सदस्यले बताए। भर्चुअल भेलालाई पार्टी एकताका लागि सक्रिय रहेका नेताहरूले सम्बोधन गरेका छन्। पछिल्लो समय एमालेको संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका असन्तुष्ट पक्षका नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ओलीले वार्तालाई दाउपेचका रूपमा प्रयोग गरेको अनुभूति आफूहरूलाई भएको बताएका छन्।

नेपाल समूहको बिहीबार दिउँसो बसेको भचुअल केन्द्रीय कमिटी बैठकमा उनीहरूले आफूहरू धेरै आशावादी नरहेको समेत उल्लेख गरे। केन्द्रीय सदस्यहरूले यसबारे उठाएका प्रश्नमा भुसाल र पाण्डे दुवैले वार्ताबाटै एमाले जोगाउने पहल गर्न आफूहरू केन्द्रित रहे पनि त्यसबाट आफूहरूले अब कमै आशा गरेको बताएका हुन्।

‘केन्द्रीय सदस्यहरूले त्यसबारे प्रस्ट पार्न भनेपछि उहाँहरूले बोल्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भुसाल र पाण्डेलाई उद्धृत गर्दै भने, ‘यत्रो आन्दोलन यत्तिकै किन विघटन हुन दिने भन्ने हामीलाई लाग्यो, केपी ओलीका तर्फबाट पनि निरन्तर बसौं भनिएकाले हामी अनौपचारिक वार्तामा बसेका हौं। तर, यसलाई बालुवाटारले दाउपेचको रूपमा प्रयोग गरेको हो कि भन्ने हामीलाई पनि लागेको छ।’

बैठकमा भुसालले दुई पक्षबीचका वार्ता र छलफलका विषय गोप्य राख्ने सहमति भएको तर ओली पक्षले त्यसलाई दाउपेचका रूपमा बाहिर ल्याएको र उल्टो आफूहरूलाई आफ्नै समूहमा समस्यामा पार्न खोजेको टिप्पणी गरेका थिए। भुसाल र पाण्डे दुवैले बैठकमा भने, ‘अझैं पनि दुई चार दिन हेरौं, त्यसपछि पनि भएन भने हामी आफ्नो तरिकाले अगाडि बढ्ने त छँदैछ। त्यतिञ्जेल पहल गरेर पार्टी जोगाइयो भने धेरै कुरा गर्न सकिन्छ।’

बैठकमा भीम रावलले पछिल्ला घटनाक्रमको ब्रिफिङ गरेका थिए। उनले अहिले ओली समूहसँग कुनै वार्ता नभएको, वार्ता टिमको संयोजकलाई नै कारबाही गरेपछि कूटनीतिक रूपमा त्यसको औचित्य सकिएको बताएका थिए। ‘उनीहरूले दिएको सन्देश नै यही हो,’ रावलको भनाई थियो, ‘तर, पनि जाऔं छलफल गरौं भनेर अनौपचारिक रूपमा केही साथीहरूले छलफल गर्नुभएको मैले पनि सुनेको छु।’

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले आफूहरू एमाले जोगाउने पक्षमा भए पनि अब ओलीलाई विश्वास गर्नै नसकिने बताएका थिए। उनीहरूलाई सम्बोधन गर्ने क्रममा नेपालले पनि ओलीले धोका दिन्छन् भन्ने आफूलाई लागेको बताएका थिए। नेपालले सबैका कुरा सुन्ने र अन्तिममा आफ्नो धारणा राख्ने बताएका छन्। बैठक अहिले पनि जारी छ।