विभाजनको डिलमा जसपा : त्रासमा प्रदेश २ को सरकार

Jasapa leaders
लोकपाटी न्यूज

वीरगंज। जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेपछि त्यसको असर प्रदेश २ को सरकारमा पर्ने देखिएको छ। प्रदेश २ मा अहिले जसपाको सरकार छ। पार्टीको आन्तरिक विवादले जसपा विभाजनको डिलमा पुगेपछि प्रदेश सरकार संकटमा पर्ने देखिएको हो।

जसपामा केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गर्ने या नगर्ने भन्ने विषयमा विवाद छ। अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकार पक्षमा दृढताका साथ उभिएको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव कुनै पनि हालतमा ओलीको विकल्पमा सरकार बन्नुपर्नेमा अडानमा छ। उक्त विवादले जसपालाई विभाजनको डिलमा पुर्‍याएको हो।

मंगलबार दुवै अध्यक्षले एक अर्कोलाई कारबाही गरेर पार्टीबाट निष्काशन समेत गरिसकेका छन्। पार्टीबाट निष्काशन गरेको पत्र निर्वाचन आयोगमा समेत पठाइ सकिएको छ। यता ठाकुर पक्ष सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीसँग निरन्तर वार्तामा छ। जसको परिणाम सरकार र थरुहट/थारुवान् संघर्ष समितिबिच ६ बुँदे सहमति भएको छ।

मधेसका मुद्दा सम्बोधन भए आफूहरू सरकारमा जाने ठाकुर पक्षका नेताहरू बताउँदै आएका छन्। मधेसका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक रहेको उनीहरूको बुझाई छ। ठाकुर पक्षले आठ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ। यद्यपि निर्णय भने गरिसकेको छैन। आठ मन्त्री र दुई राज्यमन्त्रीसमेत जसपा सरकारमा सहभागी हुने समझदारी बनेको ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताउँछन्।

जसपाबाट राजेन्द्र महतोसँगै, शरतसिंह भण्डारी, राजकिशोर यादव, विमल श्रीवास्तव, उमशंकर अरगरिया, एकबाल मियाँ, चन्दा चौधरीलगायत मन्त्री बन्ने चर्चामा छन्। ठाकुर पक्ष संघीय सरकारमा सहभागी भए जसपा फुट्ने निश्चित छ। जसको असर प्रदेश २ को संयुक्त सरकार पनि पर्ने जसपाका नेताहरू बताउँछन्। जसपाका एक केन्द्रीय सदस्य ओली सरकारमा ठाकुर पक्ष सहभागी भए पार्टीको फुट निश्चित रहेको बताउँछन्।

पार्टी फुट भएमा प्रदेश २ को सबैभन्दा ठूलो दल उपेन्द्र यादव नेतृत्वको पूर्व संघीय समाजवादी पक्षले सरकार बनाउने ती नेता बताउँछन्। पूर्व राजपाका प्रदेश सांसदहरूलाई अलग गरेर विपक्षी गठबन्धनका पार्टीसँग सहकार्य हुने सक्ने उनको दाबी छ।

प्रदेश २ का १०७ प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रका ३ जना बर्खास्त भइसकेका छन्। तत्काल कायम रहेको १०४ जनामा पूर्व संघीय समाजवादी पार्टीका ३०, पूर्व राजपाका २५, एमालेका २१, नेपाली काँग्रेसका १९, माओवादीका ८, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका १ सदस्य छन्। हाल तत्कालीन समाजवादी र राजपाको सरकार छ। जसपा विभाजन भएको अवस्थामा समाजवादी र राजपा दुवैले सरकार बनाउन कसरत गर्न सक्ने देखिन्छ। जसमा बलियो अधार उपेन्द्र पक्षको तत्कालीन समाजवादी पक्षको देखिन्छ।

उपेन्द्रको समाजवादीका २९, नेपाली काँग्रेसका १९ र माओवादीका ८ गरी कुल ५६ सांसद हुन्छन्। यसरी विपक्षी गठबन्धनले संयुक्त सरकार बनाउन सक्छन्। अर्को विकल्प भनेको राजपाको २५, एमालेको २१ गरी ४६ सांसद हुन्छन्। यसमा स्वतन्त्र र नेपाल संघीय समाजवादीको समर्थन लिए पनि ४८ मात्र सांसद पुग्नेछन्। तर बहुमतको कम्तीमा ५३ सांसद चाहिन्छ। माओवादी वा काँग्रेसले समर्थन गरेमा मात्र पूर्व जसपा पक्षले सरकार बनाउन सक्छ।